जन्मभुमि खबर ,
पोखरा ।
बालअधिकार प्रवद्र्धन, सामाजिक परिवर्तन र दिगो विकासको क्षेत्रमा सक्रिय चिल्ड्रेन–नेपालको २९ औं वार्षिक साधारण सभा संस्थाको कार्यालय मासबार, पोखरामा भव्यताका साथ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा आयोजित उक्त सभामा कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले सहभागीहरूलाई स्वागत गर्दै संस्थाको संक्षिप्त परिचय दिनुभएको थियोे। उहाँले संस्थाको दिगोपन र आत्मनिर्भरताका लागि गरिएका महत्वपूर्ण प्रयासहरू र उपलब्धिहरूको बारेमा आफ्नो भनाइ राखेका थिए ।
वि.सं. २०५२ सालमा स्थापना भएदेखि नै संस्थाले बालअधिकार प्रवद्र्धन, शान्ति, वातावरण संरक्षण र महिला सशक्तीकरणको क्षेत्रमा महत्वपुर्ण काम गर्दै आएको बताउँदै कार्यकारी निर्देशक शर्माले हालसम्म हजारौँ बालबालिका, युवा, महिला र तिनका परिवारहरूको निम्ति सामाजिक र मानवीय सेवा प्रदान गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो। विशेष गरी विभिन्न खाले जोखिममा परेका सिमान्तकृत समुदायलाई केन्द्रित गरी सामाजिक सेवाका गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी गराउँदै उहाँले यो उपलब्धि हासिल गर्न कार्यसमिति पदाधिकारी, साधारण सदस्य, कर्मचारीहरू, सहयोगी संघसंस्था, सरोकार निकाय एवम् शुभचिन्तकको साथ मिलेको र सबैको भूमिका उत्तिकै महत्वपूर्ण रहेकोमा जोड दिए ।
लक्षित समूहलाई प्रदान गरिँदै आएको सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै, कार्यकारी निर्देशक शर्माले संस्थालाई साथ र सहयोग गर्ने कर्मचारी, राज्यका निकाय, स्थानीय तह, प्रशासन र सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले कार्यसमिति सदस्य, कर्मचारी र स्वयंसेवकहरूको अहोरात्रको खटन र मेहनतका कारण नै संस्थाले सफलता हासिल गर्दै आएको तथ्यमा जोड दिनुभएको थियो। साधारण सभाको अवसरमा संस्थाको वार्षिक समाचार पुस्तिका “उज्यालोको खोजी २०८२ अङ्क १६” को अध्यक्ष शान्त पौडेल, निवर्तमान अध्यक्ष तथा संरक्षक भिमलाल गुरुङ,कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरू र कार्यकारी निर्देशकबाट संयुक्त रूपमा विमोचन गरिएको थियो ।
वार्षिक साधारण सभाको अवसरमा कार्य सम्पादन मूल्याङ्कनको आधारमा यस वर्ष लेखा तथा प्रशासन अधिकृत हरी प्रसाद पोख्रेल र भण्डार सहायक होम माया कार्कीलाई उत्कृष्ट कर्मचारीको रूपमा प्रशंसापत्र, नगद पुरस्कार र दोसल्लाले सम्मान गरिएको थियो । सोही अवसरमा संस्थालाई वर्तमान अवस्थासम्म ल्याई पु¥याउन अतुलनीय योगदान गर्नु भएकोमा उहाँको योगदानको उच्च सम्मान गर्दै संस्थाका निवर्तमान अध्यक्ष तथा संरक्षक भिमलाल गुरुङलाई संस्थाको संरक्षकको रूपमा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाद्वारा सञ्चालित सुर्यमुखी हस्तकला कार्यक्रममा संलग्न उत्पादकहरूलाई समेत नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने यस वर्ष उत्कृष्ट उत्पादकको रूपमा उत्पादक रूपा बि.क लाई प्रशंसापत्र, नगद र दोसल्लाले सम्मान गरिएको थियो।
२९ औं बार्षिक साधारणसभामा संस्थाको आ ब २०८१÷०८२ को प्रगती प्रतिबेदन संस्थाका महासचिब जयन्द्र भट्टराईले प्रस्तुत गर्नु भएको थियो भने आ ब २०८१÷०८२ को आर्थिक प्रतिबेदन र आगामी बर्ष २०८२÷०८३ को कार्यक्रम र बजेट संस्थाका कोषाध्यक्ष कुल प्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो । दुबै प्रतिबेदनहरुलाई सम्मानित सभाबाट सर्बसम्मत पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभा अत्यन्तै सौहार्दपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापनसहित शुभकामना दिने क्रममा निवर्तमान अध्यक्ष तथा संरक्षक भिमलाल गुरुङले संस्थाको प्रगतिमा सबैको सक्रिय सहभागिताको महत्वमाथि जोड दिँदै थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो। त्यस्तै, सदस्यहरुको तर्फबाट संस्थाका पुर्व सल्लाहकार धनेश्वर रखालले संस्थाले सामाजिक र आर्थिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले अझ ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो र सबैलाई उज्जवल भविष्यको लागि शुभकामना दिनुभएको थियो। संस्थाका सचिव कृष्ण प्रसाद खराल र कार्यसमिति सदस्य मिना भण्डारीले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेकी थिइन ।
अन्तमा,अध्यक्ष शान्त पौडेलले साधारण सभामा उपस्थित सम्पूर्ण साधारण सदस्यहरू, कार्यसमिति पदाधिकारीहरू, कार्यकारी निर्देशक तथा कर्मचारीहरू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। संस्थाको निरन्तर प्रगतिका लागि सामूहिक सहयोग र समर्पण अपरिहार्य रहेको कुरामा जोड दिँदै, उनले आगामी दिनमा संस्थाले थप महत्वपूर्ण सफलताहरू प्राप्त गर्ने प्रबल विश्वास व्यक्त गर्दै उपस्थित सबैको उत्साहजनक सहभागिता र सहयोगको उच्च कदर गर्दै साधारण सभाको विधिवत् समापन भएको घोषणा गरे ।
