जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गोरखाको पाङबारी हिमालमा फसेका दुई इटालियन नागरिक मृत भेटिए

जन्मभुमि खबर ,

पोखरा ।

गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालीयन आरोहीको शव फेला परेको छ ।

पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए ।

आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ ।  पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालीयन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधारशिविरमा अलपत्र परेका थिए । फरिनातो र गापुटो  हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका बताइएको छ ।

उनीहरूसँगै अलपत्र परेका इटालीयन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौं पठाइएको उनले बताए ।