जन्मभुमि खबर ,
पोखरा ।
सोलुखुम्बुको मेरा पिक क्षेत्रमा हराएका दुई आरोहीमध्ये एक कोरियन नागरिकको शव फेला परेको छ भने साथमा रहेका नेपाली पर्वतीय गाइडको सकुशल उद्धार गरिएको छ ।
नेपाल नेसनल माउन्टेन गाइड्स एसोसिएसनका अध्यक्ष तुलसीसिंह गुरुङका अनुसार यो घटना शनिबारको हो। मौसम खराब भएपछि ४६ वर्षका कोरियन नागरिक तेजुङ पार्क र नेपाली शेर्पा गाइड तेम्बा शेर्पा बेपत्ता भएका थिए।
नेपाल पर्वतारोहण संघको पहलमा आइतबार काठमाडौंबाट हेलिकप्टरमार्फत पठाइएका अन्तर्राष्ट्रिय मान्यता प्राप्त पर्वतीय पथप्रदर्शक रितेन तासी शेर्पा र अशिष गुरुङले सोमबार उद्धार कार्य सम्पन्न गरेका हुन्। उद्धार टोलीले करिब ५,८०० मिटर उचाइबाट कोरियन आरोहीको शव र नेपाली गाइडको सकुशल उद्धार गरेको अध्यक्ष गुरुङले जानकारी दिए।
उनका अनुसार, कोरियन आरोहीको हिमपातपछि एउटै स्थानमा रोकिँदा हाइपोथर्मियाका कारण मृत्यु भएको अनुमान गरिएको छ। पिक आरोहण सकेर फर्कंदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । अध्यक्ष गुरुङले भने, ‘हामीले कोरियन आरोहीको शव र नेपाली गाइड दुवैलाई उद्दार गरेका छौं। गाइड सुरक्षित छन्। सम्भवतः ती कोरियन आरोही लामो समय हिउँमा बस्नुपर्दा हाइपोथर्मियाले निधन भएको हो,’ उनले भने ।
रितेन तासी शेर्पा र अशिष गुरुङ दुवै अनुभवी तथा अन्तर्राष्ट्रिय स्तरका प्रमाणित पर्वतीय गाइड हुन्। उनीहरूलाई संघले व्यावसायिक उद्धार अभियानका लागि विशेष रूपमा खटाएको थियो।
मेरा पिक सगरमाथा क्षेत्रअन्तर्गत पर्ने ६,४७६ मिटर उचाइको हिमाल हो। नेपालकै उच्च ट्रेकिङ पिकमध्ये पर्ने मेरा पिक प्रविधिक रूपमा धेरै कठिन नभए पनि चुनौतीपूर्ण आरोहणका कारण विश्वभरका पर्वतारोहकबीच अत्यन्त लोकप्रिय मानिन्छ।
यस पिकको शिखरबाट सगरमाथा, ल्होत्से, चो ओयू, मकालु लगायतका हिमालहरूको भव्य दृश्य अवलोकन गर्न सकिने भएकाले प्रत्येक वर्ष सयौं आरोही आकर्षित हुने गर्छन्।