युरोपेली मुलुक रोमानियाको एक होटलमा सोमबार भएको आगलागीमा जलेर मृत्यु भएका २ नेपालीको पहिचान खुलेको छ ।
आगलागीमा मृत्यु हुनेमा इलामको माई नगरपालिका–७ घर भएकी २१ वर्षीया सोनी लिम्बू र काठमाडौँको दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीया सुस्मिता तामाङ रहेका छन् ।
रोजगारीको सिलसिलामा सोनी १ वर्ष र सुस्मिता ५ महिना अघि मात्र रोमानिया आएका थिए ।
आगलागीमा परि सोनि र सुस्मिताको जलेर घटनास्थलमै मृत्यु भएको थियो । आगलागीबाट घाइते भएकी इलाम चुलाचुली घर भएकी सुमिना मगरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरू बस्ने कोठा होटलकै माथिल्लो तलामा थियो ।
आगलागी भएको होटल डालेमा विगत ५ वर्षदेखि काम गरिरहेका म्याग्दी बेनीका नारायण विकका अनुसार उक्त होटलमा उनीसहित ५ जना नेपाली काम गर्थे । उनीहरूमध्ये १ जना बिदामा नेपाल गएका थिए ।
स्थानीय समय बिहान ७ बजे ठूलो आवाज आएपछि कोठाबाट बाहिर निस्केर हेर्दा होटलको माथिल्लो तला दनदन बलेको थियो। केही समय पछि प्रहरी र अग्नि नियन्त्रकको प्रयासमा आगो नियन्त्रणमा आयो । प्रहरीले सोनी र सुस्मिताको पूरै जलेको शरीर होटलबाट निकालेको नारायणले नेपालखबरसँग बताए ।
‘२ जनाकै शव पूरै जलेको अबस्थामा थियो। सोनी बहिनीले लगाएको सुनको लकेटले शवको पहिचान भएको हो’ उनले भने ।
नेपालमा मृतकहरूका परिवारलाई घटनाको बारेमा आफूले जानकारी गराइ सकेको उनको भनाइ छ ।
आगलागी भएको होटल डालेमा रोमानियाको राजधानी बुखारेष्टबाट लगभग ५२ किलोमिटरमा दुरीमा पर्ने प्रहोभास्थित तातरानी सहरमा पर्छ ।
विद्युत सर्ट भएर आगलागी भएको भनिएको उक्त होटल अग्नि सुरक्षा सम्बन्धी मापदण्ड नपुगेका कारण एक हप्ता अघि नै प्रशासनले बन्द गरेको बताइएको छ ।
छोरीको शव नेपाल पठइदिन सोनीका बुवा धनराज लिम्बूले दूतावास तथा रोमानियाको नेपाली समाजलाई आग्रह गरेका छन्। त्यस्तै आग्रह सुस्मिताका भाइ सुसान तामाङको पनि छ ।
रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयालले मृतकको शव नेपाल पठाउन र क्षतिपूर्तिका लागि पहल गर्ने बताए ।
‘अत्यन्त दुःखद घटना घटेको छ’ उनले नेपालखबरसँग भने, ‘मृतकहरूको शव नेपाल पठाउन र क्षतिपूर्तिको लागि रोमानियन सरकार र सम्बन्धित कम्पनीसँग समन्वय गर्नेछौँ ।’
लगभग ३० हजार नेपाली कामदार रहेको युरोपेली मुलुक रोमानियामा हाल नेपाल सरकारको दूतावास तथा कुनै पनि कुटनीतिक संयन्त्र छैन ।