जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टोपबहादुर रायमाझी र सुन तस्करीमा संलग्न गोरे कारागार फर्किए

जन्मभुमि खबर ,
पोखरा ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् ।

जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बतायो ।

रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए । करिब आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझीसहितका व्यक्तिविरुद्ध मुद्दा चलेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनी पुर्पक्षमा छन् ।

उनीसँगै सुन्धारा कारागारमा रहेका भुटानी शरणार्थी प्रकरणमै तत्कालीन सचिज टेकनारायण पाण्डे पनि कारागारबाट निस्केका थिए । उनी भने अहिलेसम्म फर्केका छैनन् ।

यसैगरी ३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोप लागेका चुडामणि उप्रेती (गोरे) पनि कारागार फर्किएका छन् ।

यसअघि आफन्तमार्फत कारागार फर्किने सन्देश पठाएका गोरे अहिले भने कारागार फर्किसकेका छन् । उनी केही दिनअघि मात्रै कारागार फर्केको स्रोतले बतायो ।

जेनजी आन्दोलनको क्रममा उनीसहितका व्यक्ति २४ भदौमा सुन्धारा कारागारबाट भागेका थिए ।

मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रूपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो ।

प्रहरी अधिकारीहरू नै सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेपछि गृहमन्त्रालयका तत्कालीन सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिएको थियो ।

छानबिन समितिले गोरे समूहले सन् २०१५ देखि २०१८ को फेबु्रअरीसम्म साढे ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । ९ जना प्रहरीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भयो । तर एक किलो पनि सुन भेटिएको थिएन ।

प्रहरीले सुन बरामद गर्न नसकेकै कारण जिल्ला अदालत, मोरङले सबैलाई सफाइ दियो ।

न्यायाधीश भरत लम्सालको इजलासले १९ असोज २०७८ मा सनम शाक्य हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्म कैदको फैसला सुनायो ।

एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैदको सजाय सुनाइएको थियो । जन्म कैदको सजाय पाएका गोरे भने अहिले सम्पर्कविहीन छन् ।