केपी ओली ,लेखकसहित ५ जनालाई विदेश जान रोक, स्वीकृतीबिना उपत्यका समेत छाड्न नपाउने
जन्मभुमि खबर ,
पोखरा ।
जेनजी आन्दोलन दमनबारे छानबिन गर्न बनेको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी (पासपोर्ट) रोक्का गर्न सिफारिस गरेको छ ।
आयोगले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा आन्दोलन दमनमा संलग्न ठानिएका व्यक्तिहरूलाई अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय गरिएको उल्लेख छ ।
पासपोर्ट रोक्का सिफारिस गरिएका व्यक्तिहरूमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुबाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल रहेका छन् ।
आयोगले यी पाँच जनामाथि सरकारी अनुमति विना काठमाडौं उपत्यका छोड्न नपाउने व्यवस्था मिलाउन पनि गृहमन्त्रालयलाई सिफारिस गरेको छ । आयोगको ठहर अनुसार, अनुसन्धान निष्पक्ष, स्वतन्त्र र निर्बाध बनाउन यस्तो कदम आवश्यक भएको हो ।
