जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्खेतका दिदीबहिनी भक्तपुरमा मृत भेटिए

जन्मभुमि खबर ,

पोखरा ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका ८ बोडे सिन्टिटारमा एकै परिवारका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका ८ घर भई हाल भक्तपुरमा डेरा गरी बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी श्रृजना कँडेल आफ्नै कोठामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार, चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्ने कँडेल दिदीबहिनी बिहान पौने ७ बजे कोठाको प्यासेजमा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाको प्रकृति हेर्दा प्रारम्भिक अनुसन्धानले आत्महत्या देखाए पनि प्रहरीले यसबारे थप अनुसन्धान जारी राखेको छ ।

मृतक दिदीबहिनीकी आमा उमा कँडेलले तीन साताअघि छोरीहरू मुम्बईको मिरा भाईन्दरबाट हराएको भन्दै स्थानीय सिगास टेलिभिजनलाई अन्तरवार्ता दिएकी थिइन् ।

उमा कँडेलले अन्तर्वार्ताका क्रममा छोरीहरू कम्प्युटर क्लास जान्छु भनेर घरबाट निस्किएको बताएकी छन् । उनले भनेकी छन्, ‘घरबाट कम्प्युटर कक्षा जान्छु भनेर निस्केका हुन् । कम्प्युटर कक्षाबाट घर आउँने समय ७ बजे हो। सात बज्येसम्म हेर्‍याैँ। घर नआएपछि फोन गरेँ । तर, लागेन् । कक्षामा भएको बेला फोन नलागेको होला भनेर भ्वाइस म्यासेज छोडेँ। नानीहरू घर आएर रोटी बनाउनु, खाना पकाउनु म काममा गएँ भनेर ।’

त्यसपछि उनीहरूले पनि भ्वाइस म्यासेज पठाउँदै भनेका थिए, ‘हामी यहाँ छैनौँ । ब्यङ्लोर गयौँ। हामी पैसा कमाएपछि तपाईंलाई भेट्छौँ। त्यसभन्दा अगाडी भेट्न सक्दैनौँ’ त्यो म्यासेज कान्छी सिर्जनाले गरेकी थिइन् ।

छोरीले त्यसो भनेपछि उमाले श्रीमानलाई फोन गरेर त्यसको जानकारी दिएकी थिइन् । त्यसपछि कँडेल दम्पतिले छोरीहरूको खोजीको लागि सबैतिर आग्रह गरेका थिए ।

‘म काममा थिएँ । पछि घर गएर हेर्दा छोरीहरूले आफ्ना सबै लुगा, पैसा लगेका रहेछन् । यताउता हेर्दा देखिँन। आफन्तकोमा फोन गर्‍याैँ । भेटिएनन् । पछि प्रहरीलाई खबर गर्दा नेपालतिर गइरहेको भन्यो,’ उमाले भनेकी छन् ।

कँडेलको परिवार लामो सयमदेखि भारतमा बस्दै आएको वडाध्यक्ष थापाले बताए ।