जन्मभुमि खबर ,
पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माणको शिलान्यास गरिएको छ । नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शुक्रबार शिलान्यास गरे ।
सडकको शिलान्यास गर्दै मन्त्री केसीले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई सचेत बताए । सडक निर्माण कार्य पर्यटकीय क्षेत्रसँग जोडिएको हुनाले यो परियोजना स्थानीय अर्थतन्त्र, रोजगारी, तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने मन्त्री केसीको विश्वास छ ।
सडकको लम्बाई १३.३ किलोमिटर रहनेछ । पहिलो ७ किलोमिटरसम्म अस्फाल्ट पिच र बाँकी सडकमा डिबिएसटी प्रविधिबाट पिच गरिने ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । निर्माण कम्पनीका प्रतिनिधि अनिल घिमिरले आजैदेखि निर्माण सुरु हुने र समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सडक निर्माणमा स्थानीयको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।