जन्मभुमि खबर ,
पोखरा ।
पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल घरमा बिहीबारसम्म ३ सय ६० वटा सीमा स्तम्भ (पिल्लर) गाडिएका छन् ।
सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको पुनः सीमाङ्कन गरी अहिले सीमा स्तम्भ गाड्ने काम भइरहेको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिए ।
पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा गत जेठ १७ गतेदेखि तालको किनारमा सीमा स्तम्भ गाड्न सुरु भएको थियो । फेवातालको भकुन्डे माछा पोखरी क्षेत्रमा आज पिल्लर गाड्ने कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निरीक्षण गरेका छन्।
“एक ऐतिहासिक कार्यको साक्षीका रूपमा हामी यहाँ छौँ । यसमा सबैको योगदान अतुलनीय रहेको छ । पोखराको गहनाका रूपमा रहेको फेवातालको संरक्षण गर्दै यसलाई सौन्दर्यकरण गर्नका लागि महानगर प्रतिबद्ध छ”, आचार्यले भने ।
महानगरका अनुसार पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप काम सुरुआत गर्ने योजना छ । पछिल्लो अध्ययन अनुसार तालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम) कायम भएको छ ।
फेवातालको चार किल्लामा एक हजार ५५ पोलहरू गाडिनेछन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको महानगर प्रमुख आचार्यले बताए ।
सर्वोच्च अदालतले विसं २०८० असार ४ गते फेवाताल किनारदेखि ६५ मिटरसम्मका सबै संरचना हटाउन नेपाल सरकार, प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो ।
वर्षायामको उच्चतम पानीको विन्दुदेखि ६५ मिटरसम्मको क्षेत्रलाई मध्यवर्ती हरियाली क्षेत्र घोषणा गरेर सबै अस्थायी र स्थायी संरचना हटाउन आदेश गरिएको थियो ।