जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नुवाकोटमा बाढीले गोठ बगाउँदा महिला बेपत्ता, सँगै सुतेका पति गम्भीर घाइते

जन्मभुमि खबर ,

पोखरा ।

नुवाकोटमा गएराति सुतेकै ठाउँ बाढीले बगाउँदा महिला बेपत्ता भएकी छन् भने उनका श्रीमान् गम्भीर घाइते भएका छन् ।

नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार गएराति नुवाकोटको ककनी गाउँपालिका-१, भसिबुस्थित बिमचना खोलामा आएको बाढीले गोठ बगाउँदा त्यसमा श्रीमान्‌सँगै सुतिरहेकी ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन् ।

 

उनका पति अशोक बलामी भने बाढीमा परी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बेपत्ता महिलाको खोजी भइरहेको उनले बताए ।

ठूलो वर्षाका कारण गएराति बिमचना खोलामा आएको बाढीले बलामी दम्पती सुतेको समेत तीन गोठ बगाएको हो ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा बेस बन्चरेबाट गरी ६५ जना सुरक्षाकर्मी उद्धारमा खटिएका थिए।

खोलाले पशुचौपायासहित विभिन्न सामान पनि बगाएको स्थानीयले बताएका छन्।

यसैबीच डोल्पा जिल्लाको काइके गाउँपालिका-४ रिवामा गएराति पहिरो जाँदा १५ वटा घर भत्केका छन्।

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाको सुरक्षा फौज खटिएको छ।

पहिरोमा परी ३ जना व्यक्ति घाइते भएका छन्। उनीहरूको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।