जन्मभुमि खबर ,
पोखरा ।
काठमाडौँ जिल्ला अदालतले तीनकुटने घटनाको अनुसन्धानका लागि रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले यो आदेश गरेको हो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र घटना भएकै दिन चैत १५ गते पक्राउ परेका थिए। दुर्गा प्रसाई भने त्यसको एक महिनापछि वैशाख १५ गते मात्र पक्राउ परेका थिए ।
उनी तीनकुनेमा राजा फर्काउने भनेर गरिएको प्रदर्शनका ‘जनकमान्डर’ तोकिएका थिए । उनले प्रहरीमाथि नै गाडी चलाउन खोजेका थिए। मिश्र पनि उक्त कार्यक्रममा पुगेर भिडलाई उकास्ने काम गरेको भिडिओमा देखिएको थियो ।
उक्त समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधनलगायत सम्पत्ति तोडफोड र आगजनी गरेको थियो ।
उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन्। ६१ जनामाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान चलिरहेको छ ।
दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत दुई दर्जनमाथि राज्यविरुद्धको कसुरमा मुद्दा पनि चलाउने तयारी छ ।