जन्मभुमि खबर ,
पोखरा ।
इजरायल-हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका छन् । उनीहरूले विपिन जीवितै रहेको प्रमाण नभेटिएको भन्दै आशंका व्यक्त गरेको द टाईम्स अफ इजरायलमा प्रकाशित समाचारमा उल्लेख छ ।
‘युद्ध सुरु भएको केही समयपछिदेखि तीन जना बन्धकहरू जीवित भएको कुनै संकेत प्राप्त भएको छैन,’ समाचारका अनुसार एक अधिकारीले भनेका छन्, ‘दुई जना विदेशी नागरिक हुन् र एक जना इजरायली हुन् ।’
ती अधिकारीका अनुसार जीवितको कुनै संकेत नपाएको भए पनि यी दुई विदेशी बन्धकहरूलाई आधिकारिक रूपमा मृत घोषित भने गरिएको छैन । यसरी जीवितै रहेको प्रमाण नभेटिनेमा नेपालका विपिन जोशी र थाइल्याण्डका पिन्टा नट्टापोङ रहेको समाचारमा भनिएको छ ।
हिजो (बुधबार) मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको बताउँदै तीन जना बन्धक जीवितै रहेकोमा आशंका रहेको जानकारी दिएका थिए ।
यी तीन जना जिवित भएको प्रमाण नभेटिएको कुराको जानकारी उनीहरूका परिवारलाई पनि जानकारी गराइएको टाईम्स अफ इजरायलले लेखेको छ ।
‘बन्धक बनाइएका परिवारहरूलाई उनीहरूका प्रियजनहरूको अवस्थाको बारेमा निरन्तर र पूर्ण रूपमा अद्यावधिक गरिन्छ,’ अधिकारी भन्छन्, ‘सबै महत्वपूर्ण जानकारीहरू बन्धक बनाइएका परिवारहरूलाई पुर्याइन्छ ।’
‘इजरायली बन्धकहरूको परिवारलाई जसरी सहयोग गरिन्छ, त्यसरी नै उनीहरूका परिवारहरूलाई इजरायलले सहयोग गर्छ,’ उनले भने ।
हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको छ। यीमध्ये ३५ जनाको मृत्यु भइसकेको छ, जसमा तीन जना विदेशी नागरिक रहेको समाचारमा उल्लेख छ ।