जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मिश्र र प्रसाईंसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका ‘संयुक्त जनआन्दोलन समिति’ का सदस्य सचिव रवीन्द्र मिश्र र समितिले तोकेका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले मंगलबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन्। उनी गत चैत १५ गते पक्राउ परेका थिए ।

‘संयुक्त जनआन्दोलन समिति’ तोकेका ‘जनकमान्डर’ दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो ।

उक्त प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो भने निजी घर, सरकारी गाडी, पार्टी कार्यालय र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।

प्रसाईंले गरेको उक्त कार्यक्रमलाई राप्रपा र ‘संयुक्त जनआन्दोलन समिति’ ले पनि समर्थन जनाएका थिए। प्रसाईं चैत २९ गते पक्राउ परेका थिए ।

राप्रपा वरिष्ठ उपाध्यक्ष तथा ‘संयुक्त जनआन्दोलन समिति’ का सदस्य सचिव मिश्रलाई तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।

मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री तथा ‘संयुक्त जनआन्दोलन समिति’ का आन्दोलन परिचालन समितिका धवल शम्शेर राणा भने उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका थिए। तर मिश्रमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यस्तो अवस्थामा रवीन्द्र मिश्रको तर्फबाट श्रीमती सारिका कार्कीले मंगलबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्। रवीन्द्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले रिट दिएकी हुन् ।

रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

प्रहरीले मिश्रमाथि राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान गरिरहेको छ ।

यसबीच उनको बयान समेत सकिसकेको तर पनि प्रहरीले हाजिर जमानीमा नराखेको मिश्र पक्षको जिकिर छ ।

यस रिटको पेसी बुधबारका लागि तोकिएको छ ।