जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मिश्र र प्रसाईँसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति , ३६ जना रिहा

जन्मभुमि खबर ,

पोखरा ।

तिनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित सो प्रकरणमा पक्राउ परेका २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहिबार म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत पुर्याइएका मिश्रसहित सबैलाई ५ दिन हिरासतमा राख्न अनुमति दिइएको अदालतले जनाएको छ ।

यसअघि ६ पटक म्याद थप भएका उनीहरुविरुद्ध सातौँ पटक म्याद थप भएको हो । न्यायाधीश मोना सिंहको इजलासले उनीहरुविरुद्ध राज्य विरुद्धको कसुर म्याद थप गरेको हो ।

इजलासले चैत १५ गते गरेको आन्दोलनका कमान्डर समेत रहेका दुर्गा प्रसाईंको चिकित्सकको निगरानीमा राखेर उपचार र अनुसन्धान गर्न आदेश दिएको छ । सोही प्रकरणमा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर जबरा भने स्वास्थ्यको कारण हिरासतमुक्त भएका थिए । उनलाई क्यान्सरको उपचार गर्नका लागि हिरासतमुक्त गरिएको हो ।

राजसंस्था पुर्नस्थापनाको माग गर्दै चैत १५ गते तिनकुनेमा पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु भएको थियो भने करोडौँको क्षति भएको थियो ।

यसैगरी ,

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप ३६ जना रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई मुद्दा दायर गरिने भएपनि अहिले भने हाजिरि जमानीमा रिहा गरेको जनाएको छ ।

परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका ३४ जना र राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका २ जना छुटेका छन् । उनीहरुले प्रहरीले बोलाएको बखत उपस्थित हुनुपर्नेछ। ५२ जना भने हिरासतमा रहेका छन् ।