जन्मभुमि खबर ,
पोखरा ।
नयाँ बानेश्वरमा भएको शिक्षक र प्रहरीबिचको झडपमा परि प्राइम टाइम्स टेलिभिजनकी संवाददाता सबिना कार्की घाइते भएकी छिन् । शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न पुगेकी उनको आँखामा प्रहरीले हानेको पानीको फोहरा लागेको छ ।
आँखामा चोट लागेपछि ढलेकी उनलाई नेपाल प्रहरीले उपचारका लागि बानेश्वरमै रहेको सिभिल अस्पताल पुर्याएको थियो । सो अस्पतालमा उपचार सम्भव नभएपछि ट्रमा पुर्याइकी उनलाई त्यहाँबाट समेत तिलगंगा रेफर गरिएको प्राइम टाइम्स एचडीका प्रधान सम्पादक मुकुन्द दाहालले बताए । ‘उहाँ सुरुका दिनदेखि नै शिक्षकहरुको आन्दोलनको निरन्तर रिपोर्टिङ गरिरहनुभएको थियो । सोही कारण आज पनि त्यस क्षेत्रमा पुग्नुभएकी उहाँमाथि गम्भिर चोट लागेको छ’, दाहालले भने, ‘चोट लाग्नासाथ सिभिल अस्पताल पुर्याइएको उहाँको उपचार त्यहाँ सम्भव नभएपछि ट्रमा सेन्टर पुर्याइएको थियो । त्यहाँबाट समेत रेफर गरेपछि उहाँको उपचारका लागि तिलगंगा पुर्याइएको छ ।’
त्यस्तै रिपोर्टिङमा पुगेकी एक सञ्चारकर्मीमाथि भएको उक्त व्यवहारको निन्दा गर्दै घटनाको अनुसन्धान गरी दोषी माथि कारवाही गर्नुपर्ने प्रधान सम्पादक दाहालले बताए ।
त्यस्तै काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप हुँदा दर्जनौँ शिक्षक समेत घाइते भएका छन् ।
यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो ।
झडपका क्रममा प्रहरीले पानीको फोहरा र लाठी प्रहार गर्दा शिक्षकहरु घाइते भएका हुन् । उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।