जन्मभुमि खबर ,
पोखरा ।
रवि लामिछानेविरुद्ध दर्ता भएकाे मुद्दा पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ ।
बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रबार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
प्रहरीले बुझाएको प्रतिवेदनमा ४१ जनालाई प्रतिवादी बनाइएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार दुई वटा मुद्दाको अनुसन्धान सकिएपछि कारबाहीका लागि विभिन्न कम्पनी तथा व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रतिवेदन अगाडि बढाइएको छ ।
यी मुद्दामा ३० जना व्यक्ति, तीन वटा सहकारी र ८ वटा विभिन्न कम्पनीलाई प्रतिवादी बनाइएको पर्सा प्रहरीले जनाएको छ । २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ बिगो माग दाबी गर्दै प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
संसदीय छानबिनको समितिले अनुसन्धान गरेर लामिछानेमाथि मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्देशन दिएपछि पर्सा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै लामिछानेसहितका व्यक्तिहरूमाथि मुद्दा दर्ता भएको हो ।