जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्ववियु निर्वाचन : पोखराको पृथ्वीनारायण क्याम्पसको मतदान चैत १० गते हुने

जन्मभुमि खबर ,
पोखरा ।

पृथ्वीनारायण क्याम्पस (पीएन)मा बुधबार मतदान नभएपछि बिहीबारको लागि तय भएको स्ववियु निर्वाचन अनिश्चित बन्न पुग्यो । मतपत्रमा त्रुटि भेटिएपछि बुधबार निर्वाचन समितिले नयाँ मतपत्र छपाइ गर्न थाल्यो । मतपत्र छपाइमा ढिला भएपछि बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने जानकारी विद्यार्थीहरूलाई गराइयो ।

बुधबारलाई मतदानको सूचना निकालेको निर्वाचन कमिटीले बेलुका भने मतदान अनिश्चित बनेको सूचना जारी गर्‍यो । किनभने, मंगलबार साँझ नै संयुक्त विद्यार्थी प्यानलसहित अखिल छैटौँले गेटमा तालाबन्दी गरे । निर्वाचनमा आचारसंहिता उल्लंघन भएका कारण तालाबन्दी गरिएको र नयाँ मिति तय हुनुपर्ने तथा आचारसंहिता पनि कडा गरिनुपर्ने माग उसले राख्यो ।

बुधबार मतदान नभएता पनि विद्यार्थी संगठन र निर्वाचन कमिटीबीच छलफल भयो । छलफलले अब १० गते मतदान गर्ने नयाँ मिति तय गरेको छ ।

बुधबार सर्वपक्षीय बैठकबाट १० गते निर्वाचन हुने मिति तय भएको निर्वाचन कमिटीले जारी गरेको सूचनामा भनिएको छ । १६ वर्षअघि सम्म विद्यार्थी संगठनले विभिन्न बहानामा निर्वाचन भाँड्ने काम गर्दै निर्वाचन स्थगित गराउँदा यसपटक भने विद्यार्थीहरू निर्वाचनको पक्षमा देखिए । यतिसम्म की उनीहरू अराजक गतिविधि नभइ एजेन्डा र विचारको आधारमा निर्वाचनमा होम्मिए ।

विद्यार्थीले निर्वाचन चाहे पनि मतदानका दिन मतपत्रमा प्रत्यक्ष तर्फको दोस्रो कोलममा रहेको अखिल (छैठौँ)को अध्यक्ष पदको उमेदवारको नामको पछाडि रेजा लगाउने कोठा नै छुटेपछि मतदान प्रक्रिया नै रोकिएको थियो ।