जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको धरौटीमा रिहा भएका रास्वपा सभापति लामिछाने आज तारिख बुझ्नको लागि जिल्ला अदालत पुगेका हुन् ।

काठमाडौं जिल्ला अदालतले थुनछेक बहस पछि लामिछानेसँग ६० लाख रुपैँया धरौटी मागेको थियो। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा,कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३९ जनालाई ‍प्रतिवादी कायम गरिएको छ।

उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।