आहा रारा पोखरा गोल्ड कप : एपीएफलाई २ गोलले हराउँदै मछिन्द्र क्वार्टरफाइनलमा
जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा विभागीय टिम एपीएफलाई स्तब्ध पार्दै मछिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । जारी संस्करणको बुधबार भएको खेलमा मछिन्द्रले एपीएफमाथि २-० को सानदार जित निकालेको हो ।
मछिन्द्रको जितमा आदित्य शाक्य र स्टेफन कामाहाले १/१ गोलको योगदान गरे । खेलको ७४औं मिनेटमा मछिन्द्रका आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले आयुष घलानले मैदानको सेन्टर भागबाट उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै सफल उत्कृष्ट फिनिसिङ गरे ।
पेनाल्टी बक्समा पुर्याएर एपीएफका दुई खेलाडीलाई छलाउँदै बक्स भित्रबाट उत्कृषट गोल गरेका उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका आदित्यले आफूलाई प्रमाणित गरेका छन् ।
त्यस्तै, खेलको ८१औं मिनेटमा मछिन्द्रका विदेशी खेलाडी स्टेफन कामाहाले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको करिब अन्तिममा २ गोल गरेपछि मछिन्द्रले एपीएफलाई दबाब बढाएको थियो ।
कामाहले देवेन्द्र तामाङले हानेको फ्रिकिकमा हेड मार्फत गोल गरे । एपीएफका किपर बल रोक्न अघि बढेपनि उनले कुनै अवसर नै पाएनन् ।
प्रतियोगिता अन्तर्गत विहीबार एनआरटी फुटबल क्लव र चर्च ब्वाईज युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।