जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।
बहस नसकिएपछि रविलाई श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएर पठाएको जिल्ला अदालत, रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।
उनलाई भोलि १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ। भोलि नै बहस सुरु हुने पनि ज्ञवालीले जानकारी दिए ।
सुप्रिम सहकारी ठगीसम्बन्धी अभियोगको प्रतिवाद गर्न बुधबार आफै अदालतमा हाजिर भएका लामिछानेलाई जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिनभर बयान लिइएको थियो। बयान सकिएपछि उनलाई परिवार र कानुन व्यवसायीको जिम्मा लगाइएको हो ।
यसअघि काठमाडौँ जिल्ला अदालतले भने उनलाई परिवार र कानुन व्यवसायीको जिम्मा लगाउन अस्वीकार गरेको थियो। रविले काठमाडौँ जिल्ला अदालतमा पनि आफूलाई हिरासतबाहिरै बसेर मुद्दाको प्रक्रियामा सहभागी हुने सुविधाका लागि याचना गरेका थिए ।
रूपन्देही अदालतमा पनि उनले इजलासमा यही याचना गरेका थिए। उनको मागअनुसारै इजलासले बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हिरासत बस्नु नपर्ने गरी बाहिरै बस्ने सुविधा दिएको हो ।
गएको आइतबार लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ ।
दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणमा प्रतिवादी बनाइएकाहरूलाई पनि कसुर र बिगो थप गरेर प्रतिवादी बनाइएको छ ।
कुमार रम्तेल, शिवबहादुर गुरुङ, छविलाल जोशी, रवि लामिछाने, लक्ष्मीप्रसाद पौडेल, दिपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, नरेश जिसी, गितेन्द्रबाबु राई, भुपेन्द्र राई, देवेन्द्रबाबु राई, सागर केसी, नवीन अछामी, असरफ अलि सिद्दिकी र हेमन्त अधिकारीलाई प्रतिवादी छन् ।
तर यीमध्ये दुई जनाबाहेक सबै फरार छन्। दुई जना जिल्ला कारागार कास्कीमा छन्।
रविलाई गोर्खा मिडियामा जाँदा लिएको सेयरको २ करोड र गोर्खा मिडियामा सहकारीबाट लगिएको १० करोड ९९ लाख रुपैयाँमा बिगो भराउनु पर्ने सरकारी वकिलको माग दाबी रहेको छ। यो सबै गर्दा उनको नाममा साढे ४ करोडजति बिगो कायम हुन आउँछ।
यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा धरौटी बुझाएर रिहा भएका थिए। पोखरामा ६५ लाख र काठमाडौँमा ६० लाख धरौटी बुझाएका थिए।