जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुम्दीकोट जाने बाटो एकतर्फी निमार्ण गरिने

जन्मभुमि खबर ,
पोखरा ।

पर्यटकको चाप बढ्दै गएपछि व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले पुम्दीकोट जाने बाटो एकतर्फी निमार्ण हुने भएको छ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार १५ गतेदेखि लागु हुने गरी पोखरा महानगरपालिका वडा नम्बर २२ सँगको समन्वयमा एकतर्फी बाटो बनाउने निर्णय गरिएको छ ।

दुर्घटना कम गर्न तथा पर्यटकको चाप व्यवस्थापन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीकी प्रहरी निरीक्षक शोभा पाण्डेले बताइन् ।

उनले भनिन्,‘बाटोमा जाम हुन्छ । पर्यटकहरुको भीडभाड धेरै हुने गर्छ । यहीँ भीडभाडलाई कम गर्नका लागि बाटो बनाउन लागेका हौं ।’

उनका अनुसार पुम्दीकोट जाने बेलामा छोरेपाटन देखि शान्ति स्तुप हुँदै जाने बाटो जान सकिन्छ, भने फर्कँदा कालिमाटीको बाटो फर्कनुपर्ने छ। बाइक स्कुटर त्यही बाटो फर्कन सक्नेछन् भने अन्य साधन कालिमाटीको बाटो हुँदै फर्कनु पर्नेछ।

पुम्दीकोट शिव मन्दिरमा व्यवस्थित पार्किङ, अपांगमैत्री पहुँचमार्ग, र अन्य सुविधाहरु निर्माण भइरहेका छन् । पुम्दीकोट पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको लोकप्रिय गन्तव्य बनेको छ।

यहाँबाट पर्यटकहरुले फेवाताल, हिमालका दृश्य, र अन्य धार्मिक तथा सांस्कृतिक आकर्षणहरुको अनुभव लिन सकिनेछ ।