टाइगर कप भलिबल : ट्राभल इन्क्वारी थाइल्यान्डको सान्त्वना जित , अपराजित रहँदै एपीएफ पहिलो क्वालिफायरमा
जन्मभुमि खबर ,
पोखरा ।
एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ । पोखरा रंगशालामा बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो ।
दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । प्रतियोगितामा ट्राभल इन्क्वारीले एकमात्र जित निकाल्यो । आर्मीले भने जितविहीन रहँदै प्रतियोगिता टुंग्यायो ।
पहिलो सेट र दोस्रो सेट समान १८–२५ ले ट्राभल इन्क्वारीलाई सुम्पिएको आर्मीले तेस्रो सेटमा पुनरागमन गर्दै २६–२४ ले जित हासिल गरेको थियो । आर्मी चौथो सेटमा पुनः १९–२५ ले पराजित हुँदै खेल ट्राभल इन्क्वारीलाई सुम्पियो ।
प्रतियोगिताअन्तर्गत अब महिलातर्फ पहिलो क्वालिफायर खेल्ने टुंगो लागेका सशस्त्र प्रहरी बल एपीएफ र आयोजक टाइगर ग्रुप पोखराबीच हुनेछ । यस खेलले ‘जित्ने समूह’को विजेता र उपविजेताको भने टुंगो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल एपीएफ एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ ‘जित्ने समूह’को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो । एपीएफसँग पराजित भएको टाइगर ग्रुप समूह उपविजेताको रूपमा पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो ।
एपीएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा ११–१६ को पछि परेको स्थितिलाई उल्टाउँदै टाइगर ग्रुपले १८–१७ को स्थितिमा पुर्याएको थियो । तर, त्यसपछि एपीएफले पुनरागमन गर्दै खेल २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो । पहिलो क्वालिफायरमा पुनः एपीएफ र टाइगर ग्रुपबीच बिहीबार प्रतिष्पर्धा हुनेछ ।
भोलिको तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबीच हुनेछ । उक्त खेल पौने १ बजे सुरु हुनेछ । भोलिको चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
यसअघि, आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबीचको खेल बिहीबार हुने आयोजकले जनाएको छ ।