जन्मभुमि खबर,
पोखरा ।
पृथ्वी लोकमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३, सलाङघाटमा शनिबार (आज) बिहान दुई कार जुध्दा ४ जना घाइते भएका छन् ।
धादिङ प्रहरीका अनुसार काठमाडौँबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१–०२९ च १३६९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०३० च ४५०९ नम्बरको कार बिहान १० बजेतिर आपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा दुवै कारका यात्रु घाइते भएका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा बागमती प्रदेश ०१–०२९ च १३६९ नम्बरको कारका चालक कागेश्वरी मनहरा नगरपालिका-२ का २६ वर्षीय प्रज्ञान खड्का (छाती र दुवै खुट्टामा चोट) र सोही कारमा सवार २८ वर्षका प्रमोद खड्का (बाँया आँखा, नाक, र बाँया हातमा चोट) घाइते भएका हुन् ।
यस्तै बागमती प्रदेश ०१–०३० च ४५०९ नम्बरको कारमा सवार रामेछापको खडकादेवी गाउँपालिका-८ की २१ वर्षीया सुनिता बरैली (बाँया आँखा र मुखमा चोट) र मकवानपुर उपमहानगरपालिका-८ की २४ वर्षीया बबिता खनाल (निधारमा चोट) घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको उपचार मलेखुस्थित टिचिङ हस्पिटलमा भइरहेको छ ।
प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ र दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।