जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सिचुवानको जहाज र हिँउबिनाको उराठिलो माछापुच्छ्रे’काे तस्बिरले बाेलेकाे दुःखदायी कथा

जन्मभुमि खबर ,

पोखरा ।

माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त तस्बिरलाई लिएर धेरैको प्रशंसा बटुलिन् । राष्ट्रिय समाचार समिति (रासस)का लागि उनले खिचेको उक्त तस्बिरलाई बिबिसीदेखि विभिन्न राष्ट्रियरअन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रयोग गरेका छन् । कैयन सामाजिक सञ्जाल प्रयोगकर्ताले जहाजको तस्बिर साझा गरेका छन् ।

प्रवर्द्धनात्मक उडानका क्रममा पोखराका पत्रकार र व्यवसायीलाई लिएर बिहीबार दिउँसो काठमाडौँतर्फ गइरहेका बेला फोटो पत्रकार कँडेलले उक्त जहाजको तस्बिर खिचेकी थिइन् । त्यसअघि चार्टर उडानमार्फत पोखरामा आयोजित दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’ मा सहभागी हुने चिनियाँ खेलाडीलाई लिएर उक्त जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज माछापुछ्रे हिमालको नजिकबाट उडिरहेको दृश्य जति मनमोहक छ, त्योभन्दा कम छैन उक्त तस्बिरमा छचल्किएको हिमालको पीडा १ ‘कुमारी हिमाल’को पगरी पाएको माछापुछ्रे मध्य जाडोमा पनि फुस्रो र निर्जन छ । हिउँबिनाको चुचुरो फुङ्ग उडेको उराठिलो छ । त्रिभुजाकारको कालापत्थर छेउबाट जहाज उडेझैँ देखिन्छ । हिमालमा सेताम्मे हिउँ हुँदो त अझ कति खुल्दो उक्त तस्बिरको सौन्दर्य ?

प्रकृति र वातावरणप्रेमी जो कोहीको मनमा उब्जने प्रश्न हो यो । यो माछापुछ्रे मात्र नभएर हिउँविहीन बन्दै गएका हाम्रा हिमालहरूको साझा र दुःखदायी कथा हो । हिमालय क्षेत्रले झेलिरहेको वातावरणीय सङ्कटको ज्वलन्त प्रमाण हो । वर्षायाममा नाङ्गा र काला देखिने हिमाल अहिले हिउँदमा पनि उस्तै देखिन थालेका छन् । पुस महिना आधाउधी बितिसक्दा पनि हिउँ पर्ने कुनै छेकछन्द छैन ।

जाडोको खासै महसुस गर्न नपाइ हिउँद बिताउनुपरेको अनुभव नौलो हुन छाडेका छन् । हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल कसरी जोगिएलान् रु हिउँबिनाको हिमाल के हिमाल ! हिउँ भए र पो हिमालहरू छन् ।