जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखि फेवाताल किनारमा सडक महोत्सव

जन्मभुमि खबर ,

पोखरा ।

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने ‘पोखरा सडक महोत्सव’को २६औँ संस्करण आज (शनिबार)देखि सुरु हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा पुस १७ गतेसम्म लेकसाइडका चार किमी क्षेत्रमा महोत्सव हुने भएको छ ।

महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको संयोजक विकास भट्टराईले जानकारी दिएका छन् । उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि हुनेछन् ।

महोत्सवको उद्घाटनअघि लेकसाइडको खहरेबाट सांस्कृतिक झाँकीसहित र्‍याली निकालिनेछ । र्‍यालीमा ६० भन्दा बढी आमा समूह, विभिन्न जातजातिका प्रतिनिधि, र पर्यटनसम्बद्ध संस्थाको सहभागिता हुनेछ ।

महोत्सवको उद्घाटनअघि लेकसाइडको खहरेबाट सांस्कृतिक झाँकीसहित र्‍याली निकालिनेछ । र्‍यालीमा ६० भन्दा बढी आमा समूह, विभिन्न जातजातिका प्रतिनिधि, र पर्यटनसम्बद्ध संस्थाको सहभागिता हुनेछ ।

रेवानले महोत्सव सफल बनाउन सुरक्षा, स्वास्थ्य, र सांस्कृतिक समूहहरूको बैठक सम्पन्न गरेको छ । संयोजक भट्टराईका अनुसार महोत्सवलाई व्यवस्थित बनाउन विभिन्न समिति र उपसमितिहरू सक्रिय छन् ।

‘सडकमै खाउँ, सडकमै रमाऔँ’ नाराका साथ हुने यस महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, दोहोरी प्रतियोगिता, रात्रिकालीन कन्सर्ट, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनीजस्ता आकर्षण समावेश गरिएका छन् ।

सडकमा मःम खाने प्रतियोगिता, रस्साकस्सी, वेटर-चम्चा दौड, र डुङ्गा दौडजस्ता खेलकुदका कार्यक्रमले महोत्सवलाई थप रोमाञ्चक बनाउनेछन् ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले भने, ‘पोखरा सडक महोत्सव अब ब्रान्ड बनेको छ। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सवले पोखराको पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास छ ।’

यस संस्करणमा पनि पर्यटन सम्बन्धी जानकारीमूलक सडक संवाद कार्यक्रम हुनेछ ।