जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रविविरुद्ध तीन कसुरमा मुद्दा दर्ता, सम्पत्ति शुद्धीकरणमा २८ करोड बिगो दाबी, निकिता पनि प्रतिवादी

जन्मभुमि खबर,

पोखरा ।

पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो ।

रविविरुद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा २७ करोड ८९ लाख ४ हजार रुपैया बिगो दावीसहित मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् ।

३ वटै कसुरमा अभियोग दर्ता भएको रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो राखिएको छ ।

यसअघि शुक्रबार थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित १९ जनाविरुद्ध अभियोग दर्ता भएको थियो। कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ। सोही विगोमा नै थप ४४ विरुद्ध अभियोग पत्र दर्ता गराएको हो।

साथै पूर्वडीआइजी छविलाल जोशी, जिबीका साझेदार रामप्रसाद खनाल र कर्मचारी लीला पछाईविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र संगठित अपराधको कसुर अभियोग पत्र दर्ता भएको छ ।

१९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको अभियोग दर्ता हुँदा अन्यका हकमा सहकारी ठगीको अभियोग दर्ता भएको छ ।

रवि लामिछाने र उनको श्रीमती निकिता पौडेलको खातामा जम्मा भएको र निकालिएको हालसम्मको कुल रकमको श्रोत नभेटिएको आरोप पत्रमा उल्लेख छ ।

आरोप पत्रमा लामिछानेको काभ्रेमा रहेको २०५३ सालमा अश‌ँबन्डा भएको सम्पत्ति र निकिता पौडेलको बुढानिलकण्ठमा रहेको ५ आना जग्गा जफत गर्न मागदाबी गरिएको छ ।

सम्पत्ति जफत प्रयोजनका लागि निकिता पौडेललाई पनि मुद्दामा देवानी प्रतिवादी बनाइएको छ। रवि लामिछानेलाई सहकारी ऐन २०७४ का दफा १२२ को (छ) (ढ), (त) र दफा १२४ (३) विपरीतको कसुर गरेको दाबी गरिएको छ । सहकारी ठगको कसुरमा रविमाथि ऐनको दफा १२४ को उपदफा १ को खण्ड (घ) (४) र (ङ) बमोजिमको सजाय माग दावी गरिएको छ ।