जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी ठगी प्रकरण : महेन्द्र भोटे कारागार चलान

जन्मभुमि खबर ,
पोखरा ।

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी आरोप लागेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) पुर्पक्षका लागि कारगार चलान भएका छन् । सहकारीको पूर्व सञ्चालक समिति सदस्य उनी मंगलबार अदालतमा हाजिर भएका थिए । मंगलबार बयान र बुधबारको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलाशले उनलाई पुर्पक्षका लागि कारगार पठाउने आदेश गरेको हो ।

उनीविरुद्ध गत ५ पुसमा कास्की प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिसका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । विज्ञको प्रतिवेदनमा उनले साढे ८ करोड रुपैयाँ लगेको देखिन्छ ।

उनले गोर्खा मिडिया नेटवर्कलाई सहकारीबाट ट्रान्सफर भएको ३० करोडको तमसुक रहेको र आफू पीडितको पक्षमै रहेको दाबी गरेको बयान दिएका थिए । उनीसहित सहकारी सञ्चालक समिति सदस्य भविश्वर अर्याल पनि कारागार चलान भएका छन् । उनीहरु दुवैलाई मंगलबार जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासत कक्षमा राखिएको थियो ।

महेन्द्र नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालका उपमहासचिव हुन् । महेन्द्रमाथि सहकारीको सञ्चालक समिति सदस्य तथा लेखा समितिमा बसेर बचत रकम दुरुपयोग गरेका अभियोग छ।

उक्त सहकारी ठगीमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ । जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । यसअघि पक्राउ परेका सहकारी कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि थुनामा छन् । सबैभन्दा पहिला पक्राउ परेका रम्तेललाई २१ असोजमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकोमा दर्लामीलाई सोमबार पुर्पक्षका लागि थुनामा पठाइएको हो । दर्लामी केही दिनअघिमात्र काठमाडौंबाट पक्राउ परेका थिए ।

अझै १५ जना प्रतिवादी फरार सूचीमा छन् । सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जिबी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध समेत इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्न लागेको छ । यसबाहेक सहकारी सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा–४, नालाकोमुख कार्यालय रहेको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना बचतकर्ताको बचत डुबेको हो । मोटो रकम संकलन गरेर अन्यत्र लगानी गरेको सहकारीले गत वर्षको भदौदेखि निक्षेप फिर्ता नसकेपछि सञ्चालक फरार थिए । उक्त ठगी प्रकरणमा प्रहरीले गत ३२ साउनमा जाहेरी दिन सार्वजनिक सूचना जारी गरी १ हजार ३६ जनाको उजुरी संकलन गरेको थियो । सोबमोजिम २४ भदौमा जिबिसहित ७ जनालाई पक्राउ पुर्जी जारी गरिएको दोस्रो दिनमै रम्तेल पक्राउ परेका थिए ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृतिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पति नराखी व्यक्तिको नाममा गरेको देखिएको छ । प्रहरीले गत साउन ३२ गते सूचना जारी गरी भदौ १५ गतेसम्म १ हजार ३६ जना बचतकर्ताले उनीहरुविरुद्ध जाहेरी दिएका थिए ।