सन्दीपले भने–म निर्दाेष छु,सीपीएल छाेडेर केही दिनमै नेपाल आउँछु
नाबालिका बलात्कारको जाहेरी परेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित सन्दीप लामिछानले आफू निर्दाेष रहेको दाबी गर्दै छिट्टै नेपाल फर्किएर कानुनी प्रक्रियालाई सघाउने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै सन्दीपले सीपीएलबाट आफूले बिदा लिने निर्णय गरेको र केही दिनमै नेपाल फर्केर कानुनी प्रक्रियामा सघाउने बताएका हुन् ।
सन्दीप हाल क्रिकेट खेलकै लागि देशबाहिर छन् । उनले निराधार आरोपको सामना गर्न तयार रहेको र निष्पक्ष छानबिन हुनेमा आशावादी रहेको पनि बताएका छन् । कानुन सबैका लागि बराबरी हुनेमा पनि आफू विश्वस्त रहेको लामिछानेले बताएका छन् ।
कानुनले आफूलाई निर्दाेष सावित गर्ने उनको जिकिर छ । एक नाबालिकाले आफूमाथि सन्दीपले बलात्कार गरेकाे जाहेरी प्रहरी वृत्त गाैशालामा दिएकी छन् । जाहेरी परेपछि अदालतले सन्दीपका नाममा पक्राउ पुर्जी जारी गरेकाे छ । नेपाल क्रिकेट संघ क्यानले लामिछानेलाई बिहीबार निलम्बन गरेकाे थियाे ।