जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको इमेज सहकारी ठगी मुद्दामा संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद

जन्मभुमि खबर ,

पोखरा ।

कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने उक्त सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला गरेको छ ।

अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद सजया र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ । त्यस्तै सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवानाको फैसला भएको उनले जानकारी दिए ।

अर्का प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद सजाय र २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको शाखा अधिकृत पोखरेलले बताए । जरिवानासँगै १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो माग भएको उनको भनाइ छ । न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ उक्त फैसला गरेको र फैसलाको पूर्णपाठ आउन बाँकी रहेको उनले बताए ।

बचतकर्ताहरुले सहकारीका संस्थापक अध्यक्ष नेपालीलगायत १५ जना विरुद्ध गतवर्ष दायर गरेको अभियोगमाथि सुनुवाइ गर्दै अदालतले उक्त फैसला गरेको हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित नेपाली बागलुङमा रहेको सोही नामको सहकारी ठगी प्रकरणमा विसं २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् । उनमाथि पोखरा र बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ रुपैयाँ हिनामिना पारेको आरोप छ ।