जन्मभुमि खबर ,
पोखरा ।
नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ ।
संशोधित व्यवस्थाअनुसार सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ ।
डिलरबाट गरिएको सवारीसाधनको जाँचलाई नै अन्तिम मान्यता दिइने उल्लेख छ । पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुनपर्ने भएको छ ।
सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित भएर दर्ता तथा नामसारीको काम गर्न सकिने छ ।
सवारीसाधनको बीमा वा बीमा नवीकरण गर्न सवारी धनी स्वयं उपस्थित नभए पनि हुने उल्लेख छ ।
सवारीसाधन नामसारी गर्दा बायोमेट्रिक विवरण लिन सकिने गरी यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ ।
उल्लेखित संशोधनले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा पूर्वाधार विकास मन्त्रालयले गरेको छ ।
