जन्मभुमि खबर ,
पोखरा ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सोमबार साँझ करिब ५ : ४५ बजे बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा पछाडि सरेर सडकबाट करिब ७०० मिटर तल नालामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–६ खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङ गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा साँझ ६:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
दुर्घटनामा सोही ठाउँका ४९ वर्षीय तोकबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरू आँबुखैरेनी अस्पतालमा उपचारत छन् ।
दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा ट्राफिकसहित १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले जिप चालक आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ३३ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।