जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ ।

नगरप्रमुख धनराज आचार्यका अनुसार दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो ।

महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य छन् ।

समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिले विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीबारे आवश्यक सुझावसमेत दिनेछ ।

पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको बस कालिकास्थित ओख्लेको भीरमा दुर्घटनामा परेको थियो। नगरप्रमुख आचार्यका अनुसार दुर्घटनाका बेला विद्यार्थी, चालक र सहचालक गरी १९ जना सवार थिए। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य घाइते उपचाररत छन् ।

विद्यार्थीको सुरक्षा साझा जिम्मेवारी भएको उल्लेख गर्दै आचार्यले विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।