जन्मभुमि खबर ,
पोखरा ।
स्याङ्जामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–८, करादीस्थित भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गल्याङ नगरपालिका–८ की करिब २५ वर्षीया निशा पचभैया र गल्याङ नगरपालिका–९ का करिब ६० वर्षीय यमबहादुर बिक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थीका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
सोमबार साँझ गल्याङ नगरपालिका–९, साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जीप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा १७ जना घाइते भएको डीएसपी अवस्थीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये १५ जनाको नगर अस्पताल गल्याङमा उपचार भइरहेको छ । जसमध्ये केही सामान्य अवस्था रहेकाहरू उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
यस्तै, गम्भीर घाइते रहेका दुई जनालाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।