जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विजयपुर खोलामा बेपत्ता अर्का बालकको शव तनहुँमा फेला

जन्मभुमि खबर ,

पोखरा ।

विजयपुर खोलाले बगाएर बेपत्ता भएका १५ वर्षीय ओमन राईको शव बुधबार फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदी किनारमा उनको शव भेटिएको हो । खोटाङ स्थायी घर भई पोखरा–१४ चाउथे बस्ने ओमनको शव उनकी आमाले पहिचान गरेकी छन् । शवलाई पोस्टमार्टमका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा राखिएको छ ।

गत साउन ३० गते दिउँसो बजे पोखरा–१४ स्थित विजयपुर खोला तर्ने क्रममा दुई बालकलाई खोलाले बगाएको थियो । ओमनसँगै बेपत्ता भएका स्याङ्जाका १४ वर्षीय निक्सन गुरुङको शव भने यसअघि भदौ २ गते नै फेला परिसकेको थियो । निक्सनको शव घटनास्थलबाट करिब १.५ किलोमिटर तल गोरखा भिलेज पछाडि अड्किएको अवस्थामा भेटिएको थियो ।

बालकहरु बेपत्ता भएदेखि नै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली खोजीमा खटिएको थियो । सशस्त्र प्रहरी बलको नम्बर २४ गणबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा गोताखोर र रोप रेस्क्यु टोली परिचालन गरिएको थियो । ‘नदीको गहिरो खोँच र पानीको बहावका कारण खोजी चुनौतीपूर्ण थियो,’ उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भने ।

खोजी कार्यमा नेपाली सेनाको कृष्णदल गणका क्याप्टेन उमंग श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रराज पासवानको टोली पनि संलग्न थियो । सुरक्षाकर्मीले एक्साभेटर र डोरीको सहायताले खोजी कार्य जारी राखेका थिए । ओमनको शव ६ दिनपछि फेला परेसँगै खोजी अभियान टुंगिएको छ ।