जन्मभुमि खबर ,
पोखरा ।
सुनसरीको कप्तानगन्ज घटनामा घाइते भएका युवकको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ ।
देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा सुरक्षाकर्मीको गोली लागेर २१ वर्षीय रवीन्द्रकुमार मेहतालाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी दिलिप ढुंगानाले जानकारी दिए ।
यसअघि उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गरिएको थियो । विराटनगरमा उपचार हुन नसकेपछि साउन १४ गते थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
साउन ९ गते कप्तानगन्जमा दुई समूहबीच विवाद भएको थियो । विवाद बढ्दै झाँदा झडपको स्थिति आएको थियो ।
स्थिति नियन्त्रण लिने क्रममा साउन १० गते सुरक्षाकर्मीले गोली चलाएका थिए । गोली लागेर स्थानीय २१ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। गोली लागेर केही स्थानीय घाइते भएका थिए ।
यसअघि अर्का घाइते स्थानीय २२ वर्षीय जयप्रकाश मेहता बिहीबार विराटनगरमा उपचारका क्रममा मृत्यु भएका थियो । दोस्रो घाइते रवीन्द्रको मंगलबार मृत्यु भएको हो । योसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
यस घटनामा घाइते भएका सात जनाको उपचार चलिरहेको छ। विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका उनीहरू सबै देवानगन्ज गाउँपालिकाकै हुन्।