जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखि अधिकमास अर्थात् मलमास सुरु

जन्मभुमि खबर ,

पोखरा ।

प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।

एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेलले बताए ।

चान्द्र महिनामा दुई वटा सङ्क्रान्ति पर्‍यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन् । जसमा भनिएको छ–

असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।

द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।

अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले, कहिलेमात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री पोखरेलले बताए ।

पुरुषोत्तममास माहात्म्य वाचन हुने चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

यो महिनामा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।

भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गर्नुभयो । मत्स्यरूपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख छ ।

यसअघि २०८० साल साउन महिनामा अधिकमास परेको थियो । अधिकमास परेको महिनामा वैदिक सनातन धर्मावलम्बीले घरघरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने र कथा सुन्ने गर्छन् ।