जन्मभुमि खबर ,
पोखरा ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार (चैत २६) थुनामुक्त भएका छन् ।
उनीहरू पक्राउ परेको १३औँ दिनमा थुनामुक्त भएका हुन् । ओली भक्तपुरको गुन्डुबाट र लेखक कटुन्जेबाट चैत १४ (शनिबार) बिहान पक्राउ परेका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका टोलीले दुवैजनालाई उनीहरूकै निवासबाट पक्राउ गरेका थिए ।
पक्राउलगत्तै स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
लेखकलाई भने प्रहरीले महाराजगन्जस्थित २ नम्बर गणमा राखेको थियो ।
प्रहरीले यस बीचमा उनीहरूलाई थुनामा राख्न तीनपटक जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिसकेको छ । पहिलोपटक चैत १५ मा ओली र लेखकलाई थुनामा राख्न प्रहरीले पाँच दिनको अनुमति पाएको थियो ।
दोस्रोपटक चैत २० मा प्रहरीले उनीहरूलाई दोस्रोपटक दुईदिनको मात्रै म्याद पाएको थियो । आइतबार (चैत २२) भने पाँच दिनको म्याद पाएको थियो ।
आइतबार (चैत २२) मा भने सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले दुवैको बन्दीप्रत्यक्षीकरण रिटमा चौथोपटक म्याद नथप्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशसँगै पाँच दिनको म्याद सकिएपछि काठमाडौं प्रहरीले उनीहरू दुवैजनालाई परिवारको जिम्मा लगाएको हो । प्रहरीका अनुसार, ओली र लेखकको बयान अझै सकिएको छैन ।
गत भदौ २३ र २४ को जेनजी प्रदर्शनबारे छानबिन गर्न गठिन पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगले ओली–लेखकलाई बल प्रयोग गरेर दमन गरेको ठहरसहित फौजदारी कसुरमा कारबाही सिफारिस गरेको थियो ।
आयोगले ओली र लेखकसहित पूर्वआईजीपी चन्द्रकुबेर खापुङ, पूर्वगृहसविच गोकर्णमणि दुवाडी तथा तत्कालीन काठमाडौं प्रमुख सीडीओ छवि रिजाललाई समेत फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
तर, मन्त्रीपरिष्दले आयोगको सिफारिस अनुसार, व्यक्ति र सुरक्षाकर्मीको हकमा अर्को समिति बनाएर अनुसन्धान गर्ने निर्णय गरेपछि सुरक्षाकर्मीमाथि तत्काल अनुसन्धान नहुने भएको हो ।