जन्मभुमि खबर ,
पोखरा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरास्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले १३ लाख ९३ हजार ६०३ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा पोखरास्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रका तत्कालीन सहायक लेखा अधिकृत लोकप्रसाद काफ्ले, कान्तिपुर सेक्युरिटी सर्भिस प्रा.लि. काठमाडौंका सेक्युरिटी गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिमाल छन् ।
नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रले ९०० मिटर तामाको तार बेचेर खाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा उनीहरूले तार हराएको भनि १३ लाख ९३ हजार ६०३ रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार दायर गरिएको मुद्दामा अख्तियारले प्रत्येकसँग १३ लाख ९३ हजार ६०३ रुपैयाँ बिगो मागदाबी गरेको छ ।