जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा ३ जनाले पाए आमाको नामबाट नागरिकता

जन्मभुमि खबर ,

पोखरा ।

जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार तीन जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ की स्थायी बासिन्दा निरुता नेपालीका छोराद्वय सुजन नेपाली र दिनेश नेपाली तथा छोरी सुस्मिता नेपालीलाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

यसअघि अन्नपूर्ण गाउँपालिकामा गत मङ्सिर १२ गते जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा सञ्चालित स्थानीय तहमा शान्तिसुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी सचेतनामूलक अन्तरक्रियाका क्रममा निरुताका सन्तानको जन्मदर्ता प्रमाणपत्र तथा नेपाली नागरिकता प्रमाणपत्र प्राप्तिमा समस्या भएको विषय उठान गरिएको थियो ।

उक्त विषयमा सम्बन्धित स्थानीय तहसँगको समन्वय एवम् जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा उनीहरूको जन्मदर्ता गराई आमाको नामबाट नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरी समस्याको समाधान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए ।
बुबाको पहिचान हुने कुनै कागजात र प्रमाण पेस हुन नसकेका अवस्थामा अन्नपूर्ण गाउँपालिका–८ बाट गरिएको जन्मदर्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिस, वडाको मुचुल्का, प्रहरी मुचुल्का समेतका आधारमा नागरिकता ऐन, नियमावली र नागरिकता वितरण कार्यविधि बमोजिमका प्रमाण तथा तथ्यका आधारमा उनीहरूलाई आमाको नामबाट नागरिकताको प्रमाणपत्र प्रदान गरिएको कार्यालयले जनाएको छ ।