अघौँअर्चलेमा मनाइयो पौड्यालको १४२औँ जन्मजयन्ती
जन्मभुमि खबर ,
पोखरा ।
कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्ती मंगलबार उनकै जन्मस्थल कास्कीको अघौँअर्चलेमा मनाइएको छ ।
कवि शिरोमणि लेखनाथ पौड्याल जन्मजयन्ती मूल समारोह समिति, लेखनाथ साहित्य प्रतिष्ठानलगायत संस्थाको संयुुक्त आयोजनामा मंगलबार जन्मजयन्ती मनाइएको हो ।
त्यस अवसरमा आयोजि कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले नेपालमा मात्र नभइ अन्तरराष्ट्रियस्तरमा समेत प्रसिद्ध कवि शिरोमणि पौड्यालको जन्मस्थललाई ‘साहित्यिक भिलेज’को रूपमा विकास गरिने बताए ।
नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका उनलाई विसं २००८ असार २९ गते तत्कालीन राजा त्रिभुवनले कवि शिरोमणिको पदवी र मासिक रु २००० आजीवन भत्ताको व्यवस्था गरिएकाे थियो । उनी विसं २०१४ मा स्थापित नेपाल एकेडेमीमा प्राज्ञका रूपमा नियुक्त भएका थिए । विसं २०१९ मा उहाँको नाम र चित्रअङ्कित १५ पैसाको हुलाक टिकटसमेत प्रकाशित गरिएको थियो ।
लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालका अनुसार कवि शिरोमणि पौड्यालले १५ वर्षकै उमेरदेखि कविता लेख्न थालेका थिए । विसं १९६१/६२ मा ‘कविता कल्पद्रुम’ भित्रका शृङ्गार पच्चीसी र मानषाकर्षिणीबाट उनको कविता लेखन आरम्भ भएको मानिन्छ ।
साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई ०२६ सालमा मरणोपरान्त त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो ।
विसं १९४१ पुस १५ मा कास्कीको अर्घौँअर्चलेमा पण्डित दुर्गादत्त पौड्याल र माता वसुन्धरादेवीको कोखबाट जन्मिनुभएका पौड्यालको विसं २०२२ फागुन ७ गते शिवरात्रिका दिन निधन भएको थियो ।
उनको जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रमकाबीच लेखनाथ साहित्य पुरस्कारबाट साहित्यकार घनश्याम कँडेल, कसन्तादेवी साहित्य पुरस्कारबाट गङ्गा कर्माचार्य, लेखनाथ सांस्कृतिक पुरस्कारबाट साहित्यकार नवराज अधिकारीलाई सम्मान गरिएको छ । त्यस्तैगरी लेखनाथ पत्रकारिता पुरस्कारबाट पत्रकार कविराज खनाल र स्मीता अधिकारीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा कवि तथा साहित्यकारहरूले आफ्ना कविता वाचन गर्नुका साथै कवि शिरोमणि पौड्यालको व्यक्तित्वबारे चर्चा गरिएकाे थियाे ।
लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष ढकालले धन्यवाद ज्ञापन गरेका थिए ।