जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अघौँअर्चलेमा मनाइयो पौड्यालको १४२औँ जन्मजयन्ती

जन्मभुमि खबर ,

पोखरा ।

कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्ती मंगलबार उनकै जन्मस्थल कास्कीको अघौँअर्चलेमा मनाइएको छ ।

कवि शिरोमणि लेखनाथ पौड्याल जन्मजयन्ती मूल समारोह समिति, लेखनाथ साहित्य प्रतिष्ठानलगायत संस्थाको संयुुक्त आयोजनामा मंगलबार जन्मजयन्ती मनाइएको हो ।

त्यस अवसरमा आयोजि कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले नेपालमा मात्र नभइ अन्तरराष्ट्रियस्तरमा समेत प्रसिद्ध कवि शिरोमणि पौड्यालको जन्मस्थललाई ‘साहित्यिक भिलेज’को रूपमा विकास गरिने बताए ।

दुई वर्षअघि अघौँअर्चलेमा उनको पूर्ण कदको सालिक निर्माण गरिएको र अब जग्गा प्राप्तिपछि ‘साहित्यिक भिलेज’ का रूपमा विकास गर्न महानगरले बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।
“देशैभरिका साहित्यकार तथा कविहरूले आवासीय रूपमा यही बसेर कविता रचना गर्न सकून भनेर नै अर्चलेलाई साहित्यिक भिलेज बनाउने लक्ष्य छ । जग्गा प्राप्त भएपछि बाँकी काम अगाडि बढाउँछौँ”, महानगर प्रमुख आचार्यले भने।
गण्डकी प्रदेश साहित्य, कला र संस्कृतिमा अत्यन्तै धनी भएकाले यहाँ नै आदिकवि भानुभक्त आचार्य, लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरेजस्ता कविहरू जन्मेको उनको भनाइ थियो ।

नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याएका उनलाई विसं २००८ असार २९ गते तत्कालीन राजा त्रिभुवनले कवि शिरोमणिको पदवी र मासिक रु २००० आजीवन भत्ताको व्यवस्था गरिएकाे थियो । उनी विसं २०१४ मा स्थापित नेपाल एकेडेमीमा प्राज्ञका रूपमा नियुक्त भएका थिए । विसं २०१९ मा उहाँको नाम र चित्रअङ्कित १५ पैसाको हुलाक टिकटसमेत प्रकाशित गरिएको थियो ।

लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालका अनुसार कवि शिरोमणि पौड्यालले १५ वर्षकै उमेरदेखि कविता लेख्न थालेका थिए । विसं १९६१/६२ मा ‘कविता कल्पद्रुम’ भित्रका शृङ्गार पच्चीसी र मानषाकर्षिणीबाट उनको कविता लेखन आरम्भ भएको मानिन्छ ।

साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई ०२६ सालमा मरणोपरान्त त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो ।

विसं १९४१ पुस १५ मा कास्कीको अर्घौँअर्चलेमा पण्डित दुर्गादत्त पौड्याल र माता वसुन्धरादेवीको कोखबाट जन्मिनुभएका पौड्यालको विसं २०२२ फागुन ७ गते शिवरात्रिका दिन निधन भएको थियो ।

उनको जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रमकाबीच लेखनाथ साहित्य पुरस्कारबाट साहित्यकार घनश्याम कँडेल, कसन्तादेवी साहित्य पुरस्कारबाट गङ्गा कर्माचार्य, लेखनाथ सांस्कृतिक पुरस्कारबाट साहित्यकार नवराज अधिकारीलाई सम्मान गरिएको छ । त्यस्तैगरी लेखनाथ पत्रकारिता पुरस्कारबाट पत्रकार कविराज खनाल र स्मीता अधिकारीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा कवि तथा साहित्यकारहरूले आफ्ना कविता वाचन गर्नुका साथै कवि शिरोमणि पौड्यालको व्यक्तित्वबारे चर्चा गरिएकाे थियाे ।

लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष ढकालले धन्यवाद ज्ञापन गरेका थिए ।