जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज नछुट्ने भएका छन्।
कागजी प्रक्रिया मिलाउन रुपन्देही जानुपर्ने भएकाले उनी आज रिहा नहुने भएका हुन्। आवश्यक कागजी प्रक्रिया मिलाएपछि उनी भोलि मात्रै रिहा हुनेछन्। उनी शुक्रबार बिहान विमानमार्फत भैरहवा जानेछन्।
बिहीबार बैंक जमानत रकम लिएर लामिछानेलाई रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश दिएको छ।
न्यायाधीश वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले तत्कालीन गोरखा मिडिया नेटवकर्टका सञ्चालक लामिछाने र छवि ओझालाई बैंक जमानत लिएर रिहा गर्न आदेश दिएको हो।
लामिछानेले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ अनुसार आफूविरुद्ध कायम गरिएको बिगो बराबरको रकम बैंक जमानत राखेर रिहा गर्न माग गरेका थिए।
जिल्ला अदालत रुपन्देहीले उक्त दफाअनुसार दिएको निवेदन माग अस्वीकार गरे पनि उच्च अदालतले लामिछानेसँग उनको भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार बरारबरको बिगो बराबरको रकम जमानत लिएर रिहा गर्न आदेश दिएको हो।
बिगो बराबरको रकम जमानत राखेर थुनमुक्त गर्न माग गर्दै लामिछानेले दिएको निवेदन रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेपछि उनी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको ठगी गरेको आरोप लामिछानेमाथि लागेको छ। गत साउन २६ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रवि लामिछानेले बुझाएको बिगो रकम यकिन भइनसकेको भन्दै उनको निवेदन अस्वीकार गरेको थियो।
लामिछानेले थुनामुक्त गर्न माग गरी गत साउन १९ गते जिल्ला अदालतमा बैंक ग्यारेन्टीसहित निवेदन दिएका थिए। सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको अपचलनको मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो।
इजलासले बचत तथा लगानी कर्ताको रकमको सुनिश्चिता नै पहिलो शर्त भएकाले लामिछानेलाई केही शर्तको अधिनमा रहने गरी जमानतमा छाड्न भनेको हो।