पोखरामा जेएन जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट मोटरसाइकल चोरी गरी चलाइरहेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दै जाँदा चोरी भएको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।
मिति २०८२ साउन २४ गते भएको आन्दोलन, तोडफोड तथा आगजनीको क्रममा प्रहरी कार्यालयमा राखिएका सवारी साधन चोरी भएको भन्ने सूचना प्रहरीले पाएको थियो। यसै सूचनाका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
पक्राउ परेका दुवै जनालाई सम्मानित कास्की जिल्ला अदालतबाट चोरीसम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए।
यसैगरी ,
जिल्ला प्रहरी कार्यालय कास्कीले जेनजी आन्दोलनको नाममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
गत भदौ २४ गते भएको आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न सरकारी, गैरसरकारी कार्यालय र व्यक्तिगत पसल तथा घरहरूमा तोडफोड, आगजनी र लुटपाट भएका थिए। घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको पहिचानका लागि विशेष टोली गठन गरी अनुसन्धान थालेको थियो।
अनुसन्धानकै क्रममा गत कार्तिक २१ गते शुक्रबार प्रहरीले पोखरा महानगरपालिका-५ स्थित दुई जनाको कोठाबाट चोरीका विभिन्न सामान बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा गोरखा स्थायी वतन भई हाल पोखरा-५ बसोबास गर्ने २८ वर्षीय दीपक कुँवर र धादिङ स्थायी वतन भई हाल पोखरा-५ बसोबास गर्ने २३ वर्षीय दीपक राना मगर रहेका छन्।
प्रहरीले उनीहरूको कोठाबाट Dell कम्पनीका CPU-३ थान, Dell कम्पनीको मनिटर-१ थान, किबोर्ड र माउस-३/३ थान, Canon कम्पनीको प्रिन्टर-१ थान मन्टिप्लग -२ थान “HANNA in Struments” लेखिएको मेसिन सहितको डिब्बा १ थान, विभिन्न व्यक्तिका नाममा रहेको स्मार्ट कार्ड-३६ थान र बा.५९ प.८४३८ नम्बरको २२० सिसी क्षमताको मोटरसाइकल-१ थान बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव गर्न नहुने कसूरमा कास्की जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले आन्दोलनको नाममा हिंसा र तोडफोड गर्ने, सरकारी सम्पत्ति लुट्ने तथा आतङ्क सिर्जना गर्ने कुनै पनि व्यक्तिलाई कानूनी कारबाहीबाट उन्मुक्ति नदिइने चेतावनी दिएको छ।


