जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका छन्त्यालको जापानी प्रेमिकाद्वारा चक्कुले हानेर हत्या

जन्मभुमि खबर ,
पोखरा ।

जापानमा पोखराका एक युवाको चक्कुले हानेर हत्या भएको छ ।

म्याग्दीमा स्थायी बसोबास भै हाल पोखरा घर भएका २१ वर्षीय बादल छन्त्यालको जापानको चिवा प्रिफेक्चरस्थित नराशिनो सिटीमा चक्कुले हानेर हत्या भएको हो ।

छन्त्यालको उनकै करीब ३० वर्ष उमेर समूहकी उनकै जापानी प्रेमिकाले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, छन्त्याल ती जापानी युवतीसँग विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। सम्बन्धमा ख’टपट आएपछि दुवैले अलग हुने निर्णय गरेका थिए । त्यसै क्रममा अन्तिम पटक भेट गर्नका लागि छन्त्याल आफ्नी प्रेमिकासँग नियमित जाने होटलमा पुगेका थिए। उक्त होटलमा उनीहरू हरेक आइतवार भेट्ने गरेको बताइन्छ ।

प्रहरीले दिएको विवरणअनुसार आइतवार बिहान करिब ३ बजेसम्म छन्त्याल आफ्ना साथीहरूसँग सम्पर्कमा थिए । तर बेलुका करिब ५ बजे उनका दाजु तेजेन छन्त्यालले भाइको मृत अवस्थाको खबर पाएका थिए ।

घटनास्थल ती दुवैजना नियमित रूपमा जाने सोही होटलको कोठा रहेको बताइएको छ । प्रहरीले छन्त्यालको शरीरमा दुई वा बढी पटक चक्कु प्रहार गरिएको पुष्टि गरेको छ ।

छन्त्यालको शवको पोस्टमार्टम यही असोज २३ गते (अक्टोबर ८ तारिख) गरिने बताइएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको जापानी प्रहरीले जनाएको छ ।