जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वेस्ट इन्डिजविरुद्धको शृंखला नेपाललाई, नेपाली क्रिकेटकै ऐतिहासिक जित

वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितेको छ ।  सोमबार (भदौ १३ गते) राति संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमै समेटियो ।

वेस्ट इन्डिजलाई सस्तैमा रोक्न नेपालका मोहम्मद आदिल आलमले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका आलमले २४ रनमात्र खर्चिए । कुशल भुर्तेलले तीन विकेट लिए । २.१ ओभर बलिङ गरेका कुशलले एक मेडेन फाल्दै १६ रनमात्र खर्चिए । दीपेन्द्र सिंह ऐरी, करण केसी र ललित राजवंशीले समान एक–एक विकेट लिए ।

वेस्ट इन्डिजका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेखनीय रहन सकेन । जेसन होल्डरले २१, अकिम अगस्टेले १७ र आमी जांगोले १६ रन बनाए । अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल खडा गरेको थियो ।

नेपालबाट ओपनर आसिफले सर्वाधिक ६८ रन बनाए । उनले ४७ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । यसैगरी, सन्दीप जोराले ३९ बलमा तीन चौका र पाँच छक्कासहित ६३ रन बनाए ।

४३–३ को स्थितिबाट यी दुईले १०० रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । आदिल आलमले ११ रन थपे ।

वेस्ट इन्डिजका बलिङतर्फ अकिल हुसेन र काइल मेयर्सले समान दुई–दुई विकेट लिए । यसबाहेक, जेडिया ब्लेड्सले एक विकेट लिए ।

नेपाली क्रिकेटले इतिहासमै टेस्ट राष्ट्रविरुद्धको शृंखला जितेको यो पहिलोपटक हो । नेपाली टिमले आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध खेलेको पहिलो शृंखलामा नै जित निकालेको हो ।

दोस्रो जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुने तालिका छ ।