पोखरामा असोज ११ गते खुल्ला पर्वतीय दौड हुने
जन्मभुमि खबर ,
पोखरा ।
विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) आगामी असोज ११ गते देशको पर्यटकीय राजधानी पोखरामा खुला पर्वतीय दौड आयोजना गरिने भएको छ ।
पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार तथा प्रवर्द्धनका लागि आयोजित दौड पोखरा–२२ विश्वशान्ति स्तूपबाट सुरु हुने जनाइएको छ ।
सो दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुने आयोजक पोखरा क्लिकका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।
उनका अनुसार प्रतियोगिताका लागि मधेस प्रदेशबाहेक अन्य छ प्रदेशका एक सय खेलाडीहरूले नाम दर्ता गराएका छन् । प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकले समेत नाम दर्ता गराएका छन् । बरालका अनुसार प्रतियोगितामा दुई सयदेखि २५० जनासम्म खेलाडीहरू सहभागी गराउने लक्ष्य छ ।
प्रतियोगिताअन्तर्गत आठ किलोमिटर पर्वतीय दौड खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० वर्ष माथिका भेट्रानतर्फको प्रोत्साहन गरी छ वटा इभेन्ट समावेश गरिएको छ । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले नगद रु ५० हजार प्राप्त गर्नेछन् । यसैगरी द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान प्राप्तलाई क्रमशः रु ३० हजार, रु १५ हजार, रु सात हजार र रु तीन हजार पुरस्कार पाउने अध्यक्ष बरालले जानकारी दिए ।
यसैगरी वडास्तरीय, खुला महिला र यू–१६ तर्फका विजेता जनही रु १५ हजार र उपविजेता जनही रु सात हजारसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको छ ।
भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही रु १५ हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन रहेको प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तूप समिति, पुम्दीकोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयलगायतले सहयोग गरेका छन् ।