जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यातायात व्यवस्था कार्यालय कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

जन्मभुमि खबर ,

पोखरा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका एक कार्यालय सहयोगीलाई घुस लिएको अभियोगमा मुद्दा चलाएको छ ।

आयोगले यातायात व्यवस्था कार्यालय कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध सात हजार रुपैयाँ घुस लिएको अभियोगमा आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

आयोगले बिगो बराबर जरिवानासहित कैद सजाय माग गरेको छ । आयोगले पौडेललाई घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।

आयोगका अनुसार, पौडेलले अनलाइन फारम भरेर दिने, लिखित परीक्षा पास गराइदिने र ट्रायल परीक्षामा समेत पास गरिदिने आश्वासन दिँदै सेवाग्राहीसँग घुस मागेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट उनले सवारी चालक अनुमतिपत्रको अवधि नपुगी फारम भरिदिनेलगायतका अनियमितता गर्दै बदनियतपूर्वक रकम मागेको पुष्टि भएको दाबी आयोगको छ ।