जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशका पुर्व प्रमुख गुरुङको निधन, अन्त्येष्टि आइतबार

जन्मभुमि खबर ,

पोखरा ।

नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । भरतपुर महानगरपालिका(२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गर्नुभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए ।

नेपाली कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए । विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन् ।

७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए । गुरुङका छोरा देश बाहिर रहेकोले आइतबार अन्त्येष्टि गरिनेछ ।

उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनका कान्छा छोरा र श्रीमती छन् ।