जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा एक नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियोगमा प्रहरीले शिशुका बाबुलाई पक्राउ गरेको छ ।
घटना गत वर्ष असोज १३ गतेको हो । शिशुको हत्यापछि उनी लुकीछिपी बस्दै आएका थिए । आइतबार अर्कै सन्तानकी सुत्केरी श्रीमतीलाई उपचारका लागि अस्पताल ल्याएका बेला उनी प्रहरीको फन्दामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार, गत वर्ष असोज १३ गते पोखरा महानगरपालिका–१४, चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा रातो-गुलाबी रङको ब्लाङ्केटले बेरिएको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो ।
शवको पोस्टमार्टम गर्दा शिशुको मृत्यु घाँटी र टाउकोमा लागेको चोटका कारण मृत्यु भएको रिपोर्ट आएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान केन्द्रित गरेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले शिशुका बुवा नुवाकोट घर भई हाल पोखरा बस्दै आएका ३७ वर्षीय गोविन्द लामिछाने भएको पहिचान गरे पनि उनी फरार थिए ।
घटनाको झन्डै एक वर्षपछि, लामिछानेले आफ्नी सुत्केरी श्रीमतीलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका थिए। सोही सूचनाको आधारमा प्रहरीले उनलाई अस्पताल परिसरबाटै पक्राउ गर्न सफल भयो ।
पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत, कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ ।
घटनामा अन्य व्यक्तिको संलग्नता र हत्याको कारणबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।