जन्मभुमि खबर ,
पोखरा ।
यातायात व्यवसायी तथा मजदुरहरुले सोमबारदेखि सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका छन् । राइड सेयरिङसम्बन्धि कानूनको विरोधमा उनीहरुले अत्यावश्यक सेवामा पर्ने यातायात नै ठप्प पार्न लागेका हुन् ।
आइतबार यातायात व्यवसायी तथा मजदुरहरूले संयुक्त विज्ञप्ति प्रकाशन गरी माग पूरा नभएसम्म यातायातका साधर थन्काउने निर्णय गरेका हुन्। दुई दिनदेखि उनीहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।
गण्डकी सरकारले हालै ल्याएको यससम्बन्धि कानूनको विषयलाई लिएर सुरुमा पोखराका व्यवसायी आन्दोलनमा उत्रिएकोमा देशैभरी यातायात ठप्प पार्न लागिएको छ । निजी सवारी साधनलाई पनि राइड सेयरिङको अनुमति दिंदा आफुहरुको व्यवसायमा असर गर्ने भन्द्र उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सोमबारदेखि सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।
